• १० मङ्सिर २०८३, बिहीबार

सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको नीति

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपद्बाट घाइते हुने नागरिकलाई प्रदेशस्तरमै सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने नीति लिएको बताएकी छन्।

राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले आवश्यक उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिने जानकारी दिएकी हुन्।

मन्त्री मेहताले दुर्घटनापछिको उपचारलाई प्रभावकारी बनाउन अस्पतालपूर्वको आकस्मिक सेवालाई समेत प्राथमिकता दिइएको बताइन्। यसका लागि सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको र देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा प्रवाह गर्न संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा क्रियाशील बनाइएको उनले जानकारी दिइन्।

एम्बुलेन्सलाई बिरामी ओसारपसार गर्ने सामान्य यातायातको साधनका रूपमा मात्र नभई आकस्मिक उपचार सेवा प्रदान गर्न सक्ने साधनका रूपमा विकास गर्ने सरकारको नीति रहेको उनले बताइन्।

उनले ट्रमा उपचारलाई शल्यक्रिया र औषधोपचारमा मात्र सीमित नराखी शारीरिक पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवालाई पनि संस्थागत गर्नुपर्नेमा जोड दिइन्। दुर्घटनापछि देखिन सक्ने शारीरिक अपाङ्गता तथा मानसिक समस्यालाई सम्बोधन गर्न पुनर्स्थापना सेवाको विस्तार गरिने उनको भनाइ थियो।

राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र आवश्यक दरबन्दी व्यवस्थापनका विषयलाई छिट्टै टुंगोमा पुर्‍याइने बताइन्।

विपद्, महामारी तथा सवारी दुर्घटनाका समयमा राष्ट्रिय ट्रमा सेन्टरले अग्रपङ्क्तिमा रहेर सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै उनले विशेषज्ञ उपचार सेवा स्वदेशमै विस्तार हुँदा उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न सहयोग पुगेको बताइन्।

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबीचको सहकार्यलाई थप सुदृढ गर्दै ट्रमा उपचार सेवालाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको पनि उनले बताइन्।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस