• १० मङ्सिर २०८३, बिहीबार

अस्पतालको फोहर बेचेर वार्षिक डेढ लाख आम्दानी गर्दै भद्रपुर अस्पताल

झापा । अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन चुनौती बनिरहेका बेला प्रादेशिक अस्पताल भद्रपुरले पुनःप्रयोग गर्न मिल्ने फोहर बिक्री गरेर वार्षिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ।

अस्पतालले विगत पाँच वर्षदेखि कागज, प्लास्टिक र आल्मुनियमजन्य फोहर छुट्याएर बिक्री गर्दै आएको अस्पतालको फोहरमैला व्यवस्थापन तथा बहिरङ्ग विभाग संयोजक निरु कुँवरले जानकारी दिइन्।

उनका अनुसार अस्पतालले मासिक १२ देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको छ। अस्पतालबाट मासिक करिब पाँच क्विन्टल कागज, एक क्विन्टल प्लास्टिक र दुई केजी आल्मुनियमजन्य फोहर बिक्री हुने गरेको छ।

अस्पतालले कुहिने, नकुहिने र जोखिमयुक्त फोहरलाई स्रोतबाटै वर्गीकरण गरी व्यवस्थापन गर्दै आएको छ। जर्मन सहयोगी संस्था जीआईजेडको सहयोगमा फोहर प्रशोधन तथा पुनःप्रयोगका लागि आवश्यक मेसिन र सामग्री उपलब्ध भएपछि व्यवस्थित फोहर व्यवस्थापनको अभ्यास सुरु गरिएको हो।

सङ्क्रमणको जोखिम भएका फोहरलाई आधुनिक मेसिनबाट प्रशोधन गरी सुरक्षित विसर्जन गर्ने गरिएको छ। प्रयोग भइसकेका सुईजन्य सामग्रीलाई सुरक्षित बनाएर अस्पताल परिसरमा दुईवटा चौतारासमेत निर्माण गरिएको कुँवरले बताइन्।

दैनिक औसत एक हजार बिरामीले बहिरङ्ग सेवा लिने अस्पतालमा फोहरको मात्रा बढी भए पनि वर्गीकरण, प्रशोधन र पुनःप्रयोगको अभ्यासले व्यवस्थापन सहज बनाएको अस्पतालले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस