टिप्पणीः औषधि नियमनका लागि स्वायत्त र सक्षम प्राधिकरणको आवश्यकता
नेपालको औषधि उद्योग विगत केही दशकदेखि क्रमशः विस्तार हुँदै आएको महत्त्वपूर्ण उत्पादनमूलक उद्योग हो। औषधि व्यवस्था विभागको ड्रग बुलेटिन अफ नेपाल, २०८२/८३ अनुसार नेपालमा ८८ एलोपेथिक र ६१ आयुर्वेदिक गरी कुल १४९ औषधि उद्योग दर्ता भएका छन् भने स्वदेशी औषधिले राष्ट्रिय औषधि बजारको करिब ५० प्रतिशत हिस्सा ओगटेको छ। यस टिप्पणीकारले भेटेका कतिपय उद्योगीहरूले नेपालको बजारमा आफ्नो ७५ प्रतिशतभन्दा बढी उपस्थिति (‘मार्केट सेयर’) रहेको दाबी गरेका छन्।
यो उत्साहजनक परिस्थितिमा प्रस्तावित सातौँ राष्ट्रिय अत्यावश्यक औषधि सूचीमा समावेश ४३४ औषधि अणु (मोलिक्युल) मध्ये २२५ वटा नेपालमा कुनै न कुनै स्वरूपमा उत्पादन हुने गरेको देखिएको छ। यो यथार्थ हो। स्वदेशी औषधि उद्योगले औषधिको उपलब्धता, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, प्राविधिक जनशक्ति विकास तथा राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। असल उत्पादन अभ्यास (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस–जीएमपी), आधुनिक प्रविधिको प्रयोग तथा उत्पादन विविधीकरणमा समेत क्रमिक प्रगति भएको छ। तैपनि नेपाली औषधि उद्योगले विभिन्न संरचनागत, आर्थिक, प्राविधिक तथा नियामकीय चुनौतीहरू बाट मुक्त छैन। सही बाटोमा हिँड्दा–हिँड्दै पनि औषधि उद्योगले सरकारी संरक्षण पाएको छैन।
कतिपय औषधि मुलुकभित्रै पर्याप्त परिमाणमा र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुरूप उत्पादन गर्ने क्षमता हुँदाहुँदै पनि स्वदेशी औषधि उद्योगले आयातित औषधिसँग प्रतिस्पर्धा गर्नुपरेको गुनासो उद्योगीहरूले गर्दै आएका छन्। औषधि व्यवस्था विभागको तथ्याङ्कले समेत २१२ प्रकारका अत्यावश्यक औषधि अणु स्वदेशी तथा विदेशी दुवै स्रोतबाट उपलब्ध भइरहेको देखाएको छ। उद्योगीहरूका अनुसार यस्तो परिस्थितिले स्वदेशी उद्योगको उत्पादन क्षमताको पूर्ण उपयोग, लगानीको प्रतिफल तथा औद्योगिक दिगोपनमा प्रतिकूल प्रभाव पारेको छ। तसर्थ, औषधिको गुणस्तर, मूल्य, राष्ट्रिय माग र आपूर्तिको दिगोपनलाई आधार बनाई स्वदेशी औषधि उद्योगको संरक्षण तथा प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्नु आवश्यक देखिन्छ।
औषधि उत्पादनका लागि आवश्यक सक्रिय औषधिजन्य तत्त्व (एक्टिभ फार्मास्युटिकल इन्ग्रिडियन्ट–एपीआई) तथा अन्य कच्चा पदार्थमा वैदेशिक निर्भरता, उच्च उत्पादन लागत, सीमित अनुसन्धान तथा विकास (रिसर्च एन्ड डेभलपमेन्ट), उत्पादन क्षमताको न्यून उपयोग, आयातित औषधिसँगको प्रतिस्पर्धा र सीमित निर्यात क्षमता यस क्षेत्रका प्रमुख समस्या हुन्। उद्योगीहरूका सन् २०२६ का विवरणअनुसार औषधि उद्योगमा ४० अर्ब रुपैयाँभन्दा बढी लगानी भए पनि उत्पादन क्षमताको करिब ३०–४० प्रतिशत मात्र उपयोग भइरहेको दाबी गरिएको छ। साथै, पुरानो कानुनी संरचना, नियामक निकायको सीमित संस्थागत तथा प्राविधिक क्षमता, कमजोर बजार निगरानी, मूल्य नियमनमा देखिएका समस्या तथा औषधिको अनैतिक बजारीकरणको जोखिमले समेत उद्योगको दिगो विकासमा चुनौती सिर्जना गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालको औषधि नियमन प्रणालीलाई म्याचुरिटी लेभल–१ (एमएल–१) अर्थात् नियामकीय परिपक्वताको पहिलो तह मा राख्नु भनेको औषधि नियमनका केही आधारभूत संरचना तथा व्यवस्था विद्यमान भए पनि समग्र नियमन प्रणाली अझै प्रारम्भिक विकासको अवस्थामा रहेको भन्ने हो। डब्ल्यूएचओले औषधि नियमन प्रणालीको मूल्याङ्कन गर्न ग्लोबल बेन्चमार्किङ टुल (जीबीटी) नामक अन्तर्राष्ट्रिय मूल्याङ्कन पद्धति प्रयोग गर्दछ। यसले कुनै देशको औषधि नियामक प्रणाली कति व्यवस्थित, प्रभावकारी, स्थिर र भरपर्दो छ भन्ने मापन गर्दछ। डब्ल्यूएचओका नियामकीय परिपक्वताका चार तह देखिन्छन् : आधारभूत नियामकीय प्रणाली (एमएल–१), विकासोन्मुख नियामकीय प्रणाली (एमएल–२), स्थिर तथा प्रभावकारी प्रणाली (एमएल–३) र उन्नत नियामकीय प्रणाली (एमएल–४)। डब्ल्यूएचओको परिभाषाअनुसार प्रभावकारी, दक्ष तथा पारदर्शी नियमन सुनिश्चित गर्ने लक्ष्य एमएल–३ र एमएल–४ सँग मेल खान्छ। यसले नेपालका औषधिको गुणस्तरको कुरा गरेको होइन। डब्ल्यूएचओले औषधिको व्यक्तिगत गुणस्तर नभई औषधि नियमन गर्ने समग्र राष्ट्रिय प्रणालीको परिपक्वता मापन गरेको हो।
नेपालको औषधि क्षेत्रको विस्तार, स्वदेशी औषधि उद्योगको विकास, औषधि बजारको बढ्दो जटिलता तथा विद्यमान नियामकीय चुनौतीहरूलाई दृष्टिगत गर्दा परम्परागत विभागीय संरचनाको विकल्पमा स्वतन्त्र, स्वायत्त, सक्षम, पारदर्शी तथा जवाफदेही राष्ट्रिय औषधि नियमन प्राधिकरण स्थापना गर्ने विषयमा गम्भीरतापूर्वक विचार गर्नु आवश्यक देखिन्छ। यस्तो प्राधिकरणलाई पर्याप्त कानुनी अधिकार, आर्थिक स्रोतसाधन, दक्ष प्राविधिक जनशक्ति तथा अत्याधुनिक प्रयोगशाला उपलब्ध गराई वैज्ञानिक प्रमाणमा आधारित नियामकीय निर्णय गर्न सक्षम बनाउनुपर्छ। यसले औषधिको गुणस्तर, सुरक्षा, प्रभावकारिता, सुलभता तथा उचित मूल्य सुनिश्चित गर्नुका साथै स्वदेशी र विदेशी औषधि उत्पादकबीच निष्पक्ष प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सहयोग पुर्याउन सक्छ। तथापि, विद्यमान औषधि व्यवस्था विभागको नाम र संरचना परिवर्तन गरेर मात्र अपेक्षित उपलब्धि हासिल हुन सक्दैन। त्यसका लागि कार्यगत स्वतन्त्रता, संस्थागत सक्षमता, सुशासन तथा प्रभावकारी जवाफदेहिता सुनिश्चित गरिनुपर्छ।
औषधि नियमनको विद्यमान संस्थागत संरचनालाई परिमार्जन गरी थप स्वायत्त, सक्षम, वैज्ञानिक, पारदर्शी तथा प्रभावकारी बनाउन नेपाल सरकारले खाद्य तथा औषधि नियमन प्राधिकरण स्थापना गर्ने अवधारणा अगाडि सारेको बुझिन्छ। तर ‘फुड’ र ‘ड्रग’ फरक विषय हुन्। यिनका अध्ययन तथा विशेषज्ञताका क्षेत्र (डिसिप्लिन) पनि फरक छन्। तिनलाई एउटै दाम्लोमा बाँध्नु किन पर्यो भन्ने खासै बुझ्न सकिँदैन। फेरि ब्युरोक्रेटिक लजिकमा जानु हुँदैन। आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममा उक्त विषयलाई पुनः समावेश गरिसकिएको छ। प्रस्तावित प्राधिकरणको नाम, अधिकारक्षेत्र, संस्थागत स्वायत्तता, प्राविधिक सक्षमता, आर्थिक स्रोतसाधन तथा जवाफदेहिताको स्पष्ट कानुनी व्यवस्था यसको प्रभावकारिताका लागि महत्त्वपूर्ण हुनेछ।
(डा. विपिन अधिकारी काठमाडौं विश्वविद्यालय स्कुल अफ लका प्राध्यापक तथा वरिष्ठ अधिवक्ता हुन्।)










..jpeg)






..jpeg)



प्रतिकृया दिनुहोस