• १० मङ्सिर २०८३, बिहीबार

सहमति कार्यान्वयनमा सरकारको विचलनप्रति डा. केसीको आपत्ति, आन्दोलनको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएको सहमति कार्यान्वयनका क्रममा सरकार विचलित भएको भन्दै आपत्ति जनाएका छन्। उनले सहमति अनुरूप समिति गठन गरी कार्यक्षेत्र तत्काल सच्याउन माग गर्दै अन्यथा पुनः सत्याग्रहलगायतका आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।

डा. केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा २५औँ सत्याग्रहका क्रममा गत कात्तिक २१ गते सरकारसँग भएको सहमतिको बुँदा नम्बर १ कार्यान्वयनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिको कार्यक्षेत्र सहमतिमा उल्लेखित विषयभन्दा फरक रहेको बताएका छन्।

सहमति अनुसार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा सिट निर्धारण र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सिट वृद्धि गर्दा निर्धारित मापदण्ड पालना भए/नभएको, स्वार्थको द्वन्द्व र जिम्मेवार पदाधिकारीको भूमिकाबारे छानबिन हुनुपर्ने उनको माग छ।

तर मन्त्रालयले गठन गरेको समितिलाई संस्थाहरूको स्थलगत अनुगमन गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्षम भए/नभएको मूल्याङ्कन गर्ने कार्यक्षेत्र मात्र दिइएको भन्दै उनले असन्तुष्टि जनाएका छन्। साथै, आफूहरूले सिफारिस गरेका चिकित्सा शिक्षा विज्ञलाई समितिमा समावेश नगरिएको र समिति गठनमा ढिलाइ गरिएकोप्रति पनि उनले आपत्ति जनाएका छन्।

यस्तै, सहमतिको बुँदा नम्बर ४ अनुसार गठित सहमति कार्यान्वयन अनुगमन कार्यदलको बैठकमा डा. बद्री रिजाल, विजयबाबु शिवाकोटी र डा. अमृत जैसीलाई सहभागी नगराइएकोमा समेत उनले असहमति जनाएका छन्।

डा. केसीले सहमतिका सबै बुँदा इमानदारीपूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गर्दै सहमतिलाई कमजोर बनाउने वा मूल उद्देश्यबाट विचलित गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन्। माग सम्बोधन नभए पुनः सत्याग्रहलगायतका आन्दोलन सुरु गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने उनको चेतावनी छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस