• ११ मङ्सिर २०८३, शुक्रबार

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा बिहीबार मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोषलगायत सम्बन्धित निकायका प्रतिनिधिसँग ऐन संशोधनका विषयमा थप छलफल भएको हो।

मन्त्रालयले आवश्यक छलफल र गृहकार्यपछि संशोधन विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ। कानुनी प्रक्रिया पूरा गरी विधेयक छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी छ।

प्रस्तावित संशोधनमा सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने, आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको उपचार खर्च राज्यले व्यहोर्ने तथा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषका स्वास्थ्य उपचार सुविधाबीच समन्वय र एकीकरण गर्ने विषय समेटिएका छन्।

त्यसैगरी, बीमा सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

मन्त्री मेहताका अनुसार स्वास्थ्य बीमालाई उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार अघि बढाइएको हो।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस