• ११ मङ्सिर २०८३, शुक्रबार

सबै नागरिकलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गर्ने सरकारको तयारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले  सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आबद्ध गर्ने गरी स्वास्थ्य बीमा प्रणालीमा सुधार गर्ने तयारी गरेको छ। सरकारी कर्मचारी, निजी क्षेत्रका श्रमिक तथा कर्मचारी, स्वरोजगार, अनौपचारिक क्षेत्रका श्रमिक र बेरोजगारसहित सबै नागरिकलाई बीमाको दायरामा ल्याउने सरकारको प्राथमिकता रहेको छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, व्यवस्थित र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यले सरकारले योगदान प्रणालीदेखि सेवा प्रवाह र दाबी भुक्तानी प्रक्रियासम्म सुधार गर्ने योजना अघि सारेको हो।

प्रस्तावित सुधारअनुसार नागरिकको आर्थिक अवस्था र आयका आधारमा स्वास्थ्य बीमाको योगदान प्रणाली व्यवस्थित गरिनेछ। अति विपन्न तथा आर्थिक रूपमा योगदान गर्न असमर्थ विशेष समूहको बीमा प्रिमियम भने राज्यले व्यहोर्ने व्यवस्था गरिनेछ।

हाल पाँच सदस्यसम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान गरेबापत एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ। हालसम्म एक करोड ६८ लाखभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्। तर, तीमध्ये ६२ लाखभन्दा बढी नागरिकको मात्र बीमा सक्रिय रहेको तथ्यांक छ। देशभरका ५०२ स्वास्थ्य संस्था स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन्।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा अन्य निकायमार्फत सञ्चालन भइरहेका स्वास्थ्य उपचार सुविधासम्बन्धी कार्यक्रमबीच समन्वय र एकीकरण गर्ने योजना पनि अघि सारेको छ।

त्यस्तै, बीमामार्फत सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको दायरा विस्तार गरी नागरिकलाई सहज, सुलभ र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। बीमामा आबद्धता, नवीकरण, स्वास्थ्य अभिलेख, प्रेषण, बीमा दाबी तथा भुक्तानी प्रक्रियालाई डिजिटल र प्रविधिमैत्री बनाउने सरकारको प्राथमिकता छ।

स्वास्थ्य बीमा प्रणालीमा देखिन सक्ने अनावश्यक स्वास्थ्य परीक्षण, अनुचित बीमा दाबी तथा अन्य दुरुपयोग नियन्त्रणका लागि प्रभावकारी कानुनी र निगरानी प्रणाली विकास गर्ने योजना पनि अघि सारिएको छ।

यसका साथै तीन तहका सरकारबीचको समन्वयलाई बलियो बनाउँदै स्थानीय तहका आधारभूत स्वास्थ्य संस्था, प्रदेशका अस्पताल र सङ्घीय सरकारअन्तर्गतका स्वास्थ्य संस्थालाई एउटै बीमा प्रणालीसँग जोड्ने योजना छ। यसका लागि तीनै तहका सरकारको अधिकार, दायित्व, वित्तीय जिम्मेवारी र जवाफदेहिता स्पष्ट गरिने बताइएको छ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमको सफलता बीमामा आबद्ध नागरिकको सङ्ख्याले मात्र नभई आवश्यक परेको समयमा नागरिकले सहज रूपमा उपचार पाउने अवस्था र कार्यक्रमको वित्तीय दिगोपनाले निर्धारण गर्ने जनाएको छ।

सक्षम नागरिकले आफ्नो क्षमताअनुसार योगदान गर्ने, योगदान गर्न असमर्थ नागरिकको जिम्मेवारी राज्यले लिने र सबै नागरिकलाई स्वास्थ्य उपचारको सुनिश्चितता गर्ने प्रणाली विकास गर्नु सुधारको मुख्य उद्देश्य रहेको छ।

आर्थिक अभावका कारण कुनै पनि नेपाली नागरिक उपचारबाट वञ्चित हुन नपर्ने अवस्था सिर्जना गर्ने सरकारको प्रतिबद्धता छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस