• ११ मङ्सिर २०८३, शुक्रबार

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गरिने

काठमाडौं । वीर अस्पतालका पुरानो र नयाँ भवनलाई जोड्ने गरी लिफ्टसहितको आकासे पुल निर्माण गरिने भएको छ। बिरामी तथा शय्या आवतजावत सहज बनाउने उद्देश्यले काठमाडौं महानगरपालिकाको सहयोगमा पुल निर्माण गर्न लागिएको हो।

पुलको बिहीबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरिन। पुल निर्माणका लागि ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागत निर्धारण गरिएको छ।

हाल दुई भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले बिरामीलाई एउटा भवनबाट अर्को भवनमा लैजान सडक पार गर्नुपर्ने बाध्यता छ। विशेषगरी मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा बिरामी स्थानान्तरण गर्दा समस्या हुने गरेको छ।

पुल निर्माणपछि सडक पार गरेर बिरामी लैजानुपर्ने बाध्यता हट्ने र उपचार सेवा व्यवस्थापन तथा आवागमन सहज हुने अस्पतालले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस