• ११ मङ्सिर २०८३, शुक्रबार

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिन सक्ने

काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज (मंसिर १० गते) देखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ लाख कित्ता शेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि छुट्याएको छ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ९० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ।

स्थानीय बासिन्दाले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

स्थानीय बासिन्दाले मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन अवधि पुस १३ गतेसम्म थप हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने मंसिर १५ गतेसम्म आवेदन दिने म्याद तोकिएको छ। सो अवधिमा पूर्ण आवेदन नपरे मंसिर २४ गतेसम्म म्याद थप गर्न सकिनेछ।

आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस