• ११ मङ्सिर २०८३, शुक्रबार

ललितपुर महानगरपालिका–३ मा मधुमेहसम्बन्धी जनचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रम

ललितपुर। विश्व मधुमेह दिवसको अवसर पारेर ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय, पुल्चोकमा मधुमेहसम्बन्धी जनचेतनामूलक प्रशिक्षण तथा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ।

नोभेम्बर १४ मा डायबिटिज नेपालले हेल्थ एक्सचेन्ज नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो।

मधुमेह भएका व्यक्तिमा हृदयाघात, स्ट्रोक, अन्धोपन, मिर्गौलाको खराबी तथा अङ्ग विच्छेदनजस्ता दीर्घकालीन जटिलता हुने सम्भावना रहन्छ। यस्ता जटिलताको समयमै पहिचान र उपचार गर्न सके जोखिम कम गर्न सकिने चिकित्सकीय मान्यता छ।

बेलायत, अमेरिका र जापानजस्ता विकसित देशमा मधुमेहका कारण हुन सक्ने जटिलता पहिचान गर्न स्क्रिनिङ गर्ने तथा मधुमेह भएका व्यक्तिको वार्षिक स्वास्थ्य परीक्षण गर्ने प्रणाली रहेको छ।

यही अवधारणाअनुसार नेपालमा पनि मधुमेहका जटिलतालाई मध्यनजर गर्दै ललितपुर महानगरपालिकाका २९ वटै वडामा पाइलट परियोजनाका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

मधुमेह भएका व्यक्तिले आफ्नै वडाका अन्य व्यक्तिलाई पनि जनचेतना फैलाउन सकून् भन्ने उद्देश्यले ‘ट्रेनिङ फर ट्रेनर’ (Training for Trainer) कार्यक्रमसमेत सञ्चालन गरिएको छ।

कार्यक्रममा ‘एचबीएवानसी’ परीक्षण, पिसाबबाट ‘माइक्रोएल्बुमिन’ परीक्षण, कोलेस्ट्रोल परीक्षण, बीएमआई र रक्तचाप परीक्षण गरिएको थियो। साथै, आँखाको नानी फुलाएर परीक्षण तथा खुट्टाको जाँचलगायतका स्वास्थ्य परीक्षण गरी सहभागीलाई आवश्यक परामर्श र जनचेतना प्रदान गरिएको थियो।

ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालयमा २५ जना सहभागीको स्वास्थ्य परीक्षण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष गोपाल महर्जनले गरेका थिए भने कार्यक्रमको सभापतित्व डायबिटिज नेपालका राष्ट्रिय अध्यक्ष रोशनकृष्ण न्याछ्योंले गरेका थिए।

कार्यक्रममा डा. सौरभमान श्रेष्ठ, डा. सरस्वती, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सबिन श्रेष्ठ, महासचिव कैलाशराम प्रधान, रोर्केम प्रा.लि.का निर्देशक राजेश जोशी तथा निर्देशक मधु घिमिरेको सक्रिय सहभागिता रहेको थियो।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस