• २० असोज २०८३, मंगलबार

नेपालमै मुटु तथा फोक्सो प्रत्यारोपणको सम्भावनाबारे सम्मेलन

काठमाडौं । नेपालमै मुटु तथा फोक्सो प्रत्यारोपण सेवा सुरु गर्ने सम्भावना, आवश्यक पूर्वाधार, दक्ष जनशक्ति तथा कानुनी व्यवस्थाबारे छलफल गर्दै ‘नेपाल हर्ट एन्ड लङ ट्रान्सप्लान्ट कन्फरेन्स २०२६’सम्पन्न भएको छ।

त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आयोजनामा अक्टोबर २ र ३ मा काठमाडौंमा भएको सम्मेलनमा नेपाल तथा विदेशका करिब १५० चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएका थिए। इटालीका सात विशेषज्ञले मुटु तथा फोक्सो प्रत्यारोपणसम्बन्धी १२ वटा वैज्ञानिक प्रस्तुति दिएका थिए।

सम्मेलनमा अंग छनोट, उपयुक्त बिरामी पहिचान, प्रत्यारोपणका क्रममा आउन सक्ने जटिलता तथा प्रत्यारोपणपछिको हेरचाहलगायत विषयमा विज्ञबीच अनुभव आदान–प्रदान गरिएको थियो।

सेन्टरका कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागीय प्रमुख प्रा. डा. अनिल भट्टराईले नेपालमा मुटु तथा फोक्सो प्रत्यारोपणका लागि आवश्यक जनशक्ति र पूर्वाधारको अवस्था सकारात्मक रहे पनि अस्पतालको लाइसेन्सलगायत केही प्रक्रिया पूरा गर्न बाँकी रहेको बताए।

सेन्टरका निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले नेपालमै मुटु तथा फोक्सो प्रत्यारोपण सेवा सुरु गर्ने लक्ष्य रहेको भन्दै सरकार तथा सम्बन्धित निकायबाट आवश्यक नीतिगत र संस्थागत सहयोग आवश्यक रहेको बताए।

सम्मेलनले नेपालमा मुटु तथा फोक्सो प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक चिकित्सकीय क्षमता, पूर्वाधार, कानुनी व्यवस्था र अन्तर्राष्ट्रिय सहकार्यबारे थप छलफलको आधार तयार गरेको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस