• २० असोज २०८३, मंगलबार

न्युयोर्कमा दादुराको प्रकोप बढेपछि आपत्काल घोषणा

काठमाडौं । अमेरिकाको न्युयोर्क राज्यमा दादुराको संक्रमण बढेपछि राज्यभर आपत्काल घोषणा गरिएको छ। न्युयोर्ककी गभर्नर क्याथी होकुलले विभिन्न क्षेत्रमा दादुराका संक्रमित बढेपछि आपत्काल घोषणा गरेकी हुन्।

यस वर्ष न्युयोर्कमा हालसम्म १०८ जनामा दादुरा पुष्टि भएको छ। त्यसमध्ये ९२ जना जुलाई १५ पछि संक्रमित भएका हुन्। अधिकांश संक्रमित कम खोप दर रहेका ग्रामीण क्षेत्रका बासिन्दा रहेको जनाइएको छ। न्युयोर्क सहरमा पनि सात जनामा दादुरा पुष्टि भएको छ।

छिमेकी राज्य पेन्सिलभेनियामा पनि दादुराको संक्रमण बढिरहेको छ। त्यहाँ यस वर्ष ३९ जिल्लाका १ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ भने दादुरासँग सम्बन्धित पाँच जनाको मृत्यु भएको बताइएको छ।

दादुराको संक्रमण नियन्त्रण गर्न न्युयोर्क सरकारले खोप लगाउन अनुमति पाएका स्वास्थ्यकर्मीको संख्या बढाउनुका साथै स्थानीय क्षेत्रमा संक्रमणको जोखिमबारे नागरिकलाई जानकारी गराउन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याएको छ।

घोषित आपत्काल नोभेम्बर ४ सम्म लागू हुने जनाइएको छ। अमेरिकामा अक्टोबर १ सम्म यस वर्ष ३ हजार ८८७ जनामा दादुरा पुष्टि भएको छ।

स्वास्थ्य अधिकारीहरूले दादुराबाट सुरक्षित रहन दादुरा, गलगण्ड र रुबेला (एमएमआर) विरुद्धको दुई मात्रा खोप लगाउन आग्रह गरेका छन्। विद्यालय जाने बालबालिकामा खोप लगाउने दर पछिल्ला वर्षमा घट्दै गएको भन्दै अधिकारीहरूले कम्तीमा ९५ प्रतिशत बालबालिकालाई खोपको पहुँचमा ल्याउनुपर्ने बताएका छन्। सन् २०२५–२६ को शैक्षिक वर्षमा अमेरिकामा विद्यालय जाने बालबालिकाको खोप दर ९२.४ प्रतिशत रहेको छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस