• २० असोज २०८३, मंगलबार

नेपालमा बाल क्यान्सर उपचार सुधारका लागि राष्ट्रिय समन्वयमा जोड

काठमाडौं। नेपालमा बाल क्यान्सर उपचारलाई प्रभावकारी बनाउन राष्ट्रियस्तरमा समन्वय, उपचारमा पहुँच विस्तार र एकीकृत कार्ययोजना आवश्यक रहेकोमा जोड दिइएको छ।

विश्व बाल क्यान्सर दिवसको अवसरमा जेम्स गुप्ता मेमोरियल ट्रस्ट र टीएसीसीको संयुक्त आयोजनामा गत २९ सेप्टेम्बरमा काठमाडौंमा आयोजित ‘राष्ट्रिय बाल क्यान्सर उपचार तथा सरोकारवाला सहभागिता गोष्ठी’ले यस्तो निष्कर्ष निकालेको हो। गोष्ठीमा सरकारी प्रतिनिधि, बाल क्यान्सर उपचारमा संलग्न अस्पताल तथा स्वास्थ्यकर्मी, पेशागत संघसंस्था, गैरसरकारी संस्था, अभिभावक, क्यान्सरबाट निको भएका व्यक्ति र अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रतिनिधिको सहभागिता थियो।

गोष्ठीमा बाल क्यान्सर उपचारमा भएका प्रगतिको समीक्षा गर्दै प्रारम्भिक पहिचान, समयमै स्वास्थ्य संस्थामा पठाउने व्यवस्था, उपचारमा समान पहुँच, औषधि तथा परीक्षण सेवा, सहायक उपचार, पोषण, मनोसामाजिक सहयोग र उपचारपछिको सेवामा रहेका चुनौतीबारे छलफल गरिएको थियो।

सहभागीहरूले बाल क्यान्सरलाई राष्ट्रिय स्वास्थ्य प्राथमिकतामा थप महत्व दिँदै स्पष्ट जिम्मेवारी, मापनयोग्य लक्ष्य र निश्चित समयसीमासहितको राष्ट्रिय कार्ययोजना बनाउनुपर्नेमा जोड दिएका थिए। समुदायस्तरमा जनचेतना बढाउने, पहिलो तहका स्वास्थ्यकर्मीको क्षमता विकास गर्ने र बिरामीलाई समयमै विशेषज्ञ सेवामा पठाउने प्रणाली सुदृढ गर्नुपर्ने सुझाव दिइएको थियो।

त्यस्तै, बाल क्यान्सर उपचार केन्द्रको राष्ट्रियस्तरमा मूल्यांकन गरी जनशक्तिको क्षमता, रोग पहिचान तथा परीक्षण, औषधि उपलब्धता, उपचार सेवा, बिरामी सुरक्षा, सहायक तथा मनोसामाजिक सेवाको अवस्था नियमित रूपमा समीक्षा गर्नुपर्नेमा जोड दिइएको थियो।

आवश्यक औषधि र रगतजन्य सामग्रीको नियमित उपलब्धता, बाल क्यान्सर उपचारमा संलग्न नर्सिङ जनशक्तिको क्षमता विकास, किमोथेरापी तथा संक्रमण नियन्त्रणसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन र उपचारका क्रममा हुने दुखाइ तथा असहजता कम गर्ने सेवामा सुधार गर्नुपर्ने सुझाव पनि दिइएको छ।

गोष्ठीले बाल क्यान्सरसम्बन्धी राष्ट्रिय तथ्यांक प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। रोग पहिचानमा हुने ढिलाइ, उपचार बीचमै छाड्ने अवस्था, उपचार पूरा गर्ने दर, रोग पुनः देखिने अवस्था, बाँच्ने दर र जीवनस्तरजस्ता सूचकको नियमित अभिलेख, अनुगमन तथा मूल्यांकनका लागि भरपर्दो तथ्यांक प्रणाली आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

गोष्ठीले सरकार, अस्पताल, पेशागत संघसंस्था, नागरिक समाज, अभिभावक, क्यान्सरबाट निको भएका व्यक्ति तथा अन्तर्राष्ट्रिय साझेदारको सहभागितामा राष्ट्रिय बाल क्यान्सर समन्वय संयन्त्र स्थापना वा विद्यमान संयन्त्रलाई सुदृढ गर्न सिफारिस गरेको छ। उक्त संयन्त्रमार्फत बाल क्यान्सर उपचारमा भएको प्रगतिको नियमित अनुगमन, वार्षिक समीक्षा र जिम्मेवारी सुनिश्चित गर्नुपर्ने सुझाव दिइएको छ।

प्रतिकृया दिनुहोस