• १९ असोज २०८३, सोमबार

ब्लुक्रस अस्पतालमा माइक्रोवेभ एब्लेसनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला

काठमाडौं । गर्भाशयसम्बन्धी रोगको उपचारमा प्रयोग हुने माइक्रोवेभ एब्लेसन प्रविधिबारे नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरीय चिकित्सकीय कार्यशाला काठमाडौंस्थित ब्लुक्रस अस्पतालमा सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय विशेषज्ञ प्रा. डा. सियाओमिङ गोङ र स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ डा. रङ्गिना लाइकाङबामको सहभागितामा आयोजित कार्यशालामा नेपालसहित विभिन्न देशका २० जना चिकित्सक सहभागी भएका थिए।

कार्यशालामा माइक्रोवेभ एब्लेसन प्रविधिको प्रयोग, बिरामी छनोट, उपचार प्रक्रिया, उपकरण सञ्चालन तथा उपचारका क्रममा अपनाउनुपर्ने सावधानीबारे सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको अस्पतालले जनाएको छ।

माइक्रोवेभ एब्लेसन गर्भाशयसम्बन्धी केही रोगको उपचारमा प्रयोग गरिने न्यून आक्रामक प्रविधि हो। कार्यशालाले नेपाली चिकित्सकको ज्ञान तथा सीप अभिवृद्धि गर्नुका साथै आधुनिक उपचार प्रविधिको विकास र अन्तर्राष्ट्रिय चिकित्सकीय सहकार्य विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस