ओशोको दृष्टिमा स्वास्थ्यः ‘फर्म मेडिकेसन टु मेडिटिसन’
स्वास्थ्यलाई हामी प्रायः रोगको अनुपस्थिति र उपचारलाई औषधि तथा चिकित्सकीय प्रक्रियासँग जोडेर बुझ्छौँ। आधुनिक चिकित्सा विज्ञानको मुख्य आधार पनि रोगको कारण पहिचान, प्रमाणमा आधारित उपचार र जीवनरक्षा हो। तर मानिस केवल शरीर मात्र हो त ? शरीरसँगै उसको मन, भावना र चेतनालाई पनि स्वास्थ्यको समग्रतामा राखेर हेर्नुपर्छ कि पर्दैन ?
ओशोले ‘फर्म मेडिकेसन टु मेडिटिसन’ प्रवचनमा यही प्रश्नलाई फरक दार्शनिक दृष्टिको कोणबाट चर्चा गरेका छन्।
सम्पूर्णतामा उपचार
ओशोको स्वास्थ्यसम्बन्धी विचारको केन्द्रमा मानिसलाई सम्पूर्ण अस्तित्वका रूपमा बुझ्ने अवधारणा छ। शरीरमा देखिएको समस्या केवल एउटा अंगको समस्या नभई सम्पूर्ण शरीरमा रहेको असन्तुलनको अभिव्यक्ति हुन सक्ने उनको धारणा छ।
ओशो भन्छन् ‘म्यान इज नट अ मेशिन; म्यान इज एन अर्गानिक युनिटी’ अर्थात् मानिस मेसिन होइन, ऊ एउटा जैविक एकता हो।
यो भनाइबाट ओशोले आधुनिक चिकित्सा विज्ञानको उपलब्धिलाई अस्वीकार गर्न खोजेका होइनन्; बरु मानिसलाई केवल यान्त्रिक संरचनाका रूपमा बुझ्ने दृष्टिको सीमातर्फ ध्यानाकर्षण गराएका हुन्। उनका लागि स्वास्थ्य शरीरको कुनै एउटा भाग ठिक हुनु मात्र होइन, मानिसको समग्र अस्तित्वमा सहजता आउनु हो।

ओशोको स्वास्थ्यसम्बन्धी दृष्टिकोणमा शरीर, मन र चेतनाबीचको सम्बन्ध महत्वपूर्ण छ। यही कारण फर्म मेडिकेसन टु मेडिटिसनमा स्वास्थ्यसँगै मनोविज्ञान, तनाव, विश्राम, चिकित्सकको भूमिका, ध्यान र मानिसको पूर्णताको विषय तथा शारीरिक र मनोवैज्ञानिक स्वास्थ्यमा ध्यानले पार्न सक्ने भूमिकासँग सम्बन्धित सामग्रीको संग्रहका रूपमा प्रस्तुत गरेको छ।
उपाचारसँगै ध्यान
ओशोको स्वास्थ्यसम्बन्धी प्रवचनको सबैभन्दा उल्लेखनीय अंश अस्पताल र ध्यानको सम्बन्धबारे छ।
आजभन्दा ५६ वर्ष अगाडि ३१ अगस्ट १९७० मा ओशोले अहमदाबाद, गुजरातमा भारतको मेडिकल एसोसिएसनको एक सम्मेलनलाई सम्बोधन गर्दै दिएको प्रवचनमा भविष्यको अस्पतालको परिकल्पना गर्दै अस्पतालम अनिवार्य रुपमा एउटा ध्यानको विभाग हुनुपर्ने धारणा राखेका थिए।
उनको तर्क थियो—अस्पतालले मानिसलाई सम्पूर्ण रूपमा उपचार गर्नसक्ने वातावरण बनाउनुपर्छ । शरीरलाई चिकित्सकले, मनलाई मनोवैज्ञानिकले र आत्मिक पक्षलाई ध्यानले सम्बोधन गर्नसक्ने व्यवस्था हुनुपर्ने उनको धारणा थियो ।
चेतना र आन्तरिक अवस्थाको स्वास्थ
ओशोको दृष्टिमा ‘मेडिकेसन’ शरीरको रोग र जैविक समस्याको उपचारसँग सम्बन्धित छ भने ‘मेडिटेसन’ मानिसको ध्यान, चेतना र आन्तरिक अवस्थासँग सम्बन्धित अभ्यास हो। उनले यी दुईलाई अनिवार्य रूपमा विरोधीका रूपमा प्रस्तुत नगरी मानिसको उपचारमा दुवैको आफ्नो–आफ्नो क्षेत्र हुन सक्ने उनको दृष्टिकोण हो।
त्यसैले ‘फर्म मेडिकेसन टु मेडिटिसन’ लाई ‘औषधिको विकल्प ध्यान’ भन्ने अर्थमा बुझ्नु गलत हुन्छ। यसलाई शारीरिक उपचारबाट मानिसको मानसिक र आन्तरिक आयामसम्म स्वास्थ्यको अवधारणा विस्तार गर्ने प्रयासका रूपमा बुझ्नु बढी उपयुक्त हुन्छ।


.png)



..jpeg)



..jpeg)









प्रतिकृया दिनुहोस