सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह
काठमाडौं । सम्भावित भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी गर्न आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार २०८३ कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै आवश्यक स्वास्थ्य सेवा र प्रतिकार्य क्षमता तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
इकाईका प्रमुख डा. हेमन्त चन्द्र ओझाद्वारा जारी पत्रमा प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने आपतकालीन सम्पर्क व्यक्ति तोक्न, आकस्मिक चिकित्सकीय टोली (ईएमटी) तथा स्वास्थ्य जनशक्ति तयारी अवस्थामा राख्न र औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा एम्बुलेन्सको उपलब्धता सुनिश्चित गर्न भनिएको छ।
त्यसैगरी, एम्बुलेन्स प्रेषण केन्द्रसँग समन्वय गरी सेवा प्रभावकारी बनाउन र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटनाको विवरण दैनिक रूपमा अनिवार्य पठाउन आग्रह गरिएको छ।
सम्भावित विपद्का बेला स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन र प्रभावित नागरिकलाई तत्काल उपचार उपलब्ध गराउन यी तयारीलाई प्राथमिकता दिइएको इकाईले जनाएको छ।




..jpeg)



..jpeg)


.png)







प्रतिकृया दिनुहोस